महेन्द्रनगर । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ ९नियमन र व्यवस्थापन० नियमावली–२०८२’ को कार्यान्वयन एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले देशभर जारी सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिंदै आजैदेखि यातायात सुचारु गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहितको वार्ता समितिसँगको छलफलपछि नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय भएको हो । वार्ता समिति संयोजक तथा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीका अनुसार , अब एक महिनासम्म नियमावली बमोजिमका राइड सेयरिङसम्बन्धी कुनै प्रावधान कार्यान्वयनमा आउने छैनन् ।
उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश सरकारलाई सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिई जनजीवन सामान्य बनाउन पहल गर्न पत्र प्राप्त भएको पनि जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारले जेठ १ गते राइड सेयरिङसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरेपछि विरोधमा उत्रिएका यातायात व्यवसायीले जेठ ८ गते ज्ञापनपत्र बुझाएका थिए । माग सम्बोधन नभएको भन्दै जेठ १६ देखि गण्डकी प्रदेशमा र १९ गतेदेखि देशभर सार्वजनिक यातायात बन्द गरिएको थियो । सङ्घ सरकारसँग सोमबार राति सहमति भए पनि प्रदेश सरकारको निर्णय नआएसम्म बन्द नखुल्ने अडानमा रहेका व्यवसायीले प्रदेश सरकारको निर्णय आएपछि आजबाट आन्दोलन स्थगन गरेको घोषणा गरेका हुन् ।
