इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ।
अमेरिकाले घटना अध्ययन गरिरहेको र आफ्ना नागरिकलाई सुरक्षित हुन भनेको छ।
कतारले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको र अमेरिकी एयरबेस खतरामा रहेको सूचना दिएको थियो।
९ असार, काठमाडौं । इरानले कतारको दोहामा रहेको अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ ।
इरानले सरकारी टेलिभिजनमार्फत कतारस्थित अल उदैद वायुसैनिक बेसमा रहेको अमेरिकी फौजमाथि आक्रमण गरिएको भनेको बेलायती समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ । केही समयअघि सैन्य संगीत बजिरहेको बेला स्क्रिनमा ‘अमेरिकाको आक्रमणको विरुद्ध इरानी सशस्त्र बलको शक्तिशाली र सफल प्रतिउत्तर’ भनेर क्याप्सन देखाइएको भनिएको छ ।
अमेरिकाले उक्त घटना आफ्नो जानकारीमा आएको भन्दै सोमबारको आक्रमणबारे नजिकबाट अध्ययन गरिरहेको बताएको छ । उसले आफ्ना नागरिकलाई सुरक्षित हुन पनि भनेको छ ।
कतारले केही समयअघि आफ्ना नागरिक र पर्यटकहरूको सुरक्षाका लागि भन्दै हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको घोषणा गरेको थियो । त्यसपछि दोहामा रहेको अमेरिकी एयरवेस खतरामा रहेको सूचना सार्वजनिक भएको थियो ।
इजरायल इरान तनावबीच अमेरिकाले इरानमा आक्रमण गरेपछि त्यसको बदला लिने धम्की इरानले दिएको थियो । त्यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई सत्ताच्युत गर्ने सम्भावना खुला रूपमा व्यक्त गर्दै त्यस्ता कदम नलिन चेतावनी दिएका थिए ।
