महेन्द्रनगर । कञ्चनपुरमा रहेको सार्क एजुकेशन फाउन्डेसनले सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन–२०८३ तथा प्यानल छलफल कार्यक्रम आयोजना गर्ने भएको छ ।
फाउन्डेसनले आगामी असोज ३ र ४ गते विद्यालयको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक अनुसन्धानसम्बन्धी राष्ट्रिय सम्मेलन तथा प्यानल छलफल आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।
कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनले अनुसन्धान, शिक्षा तथा शैक्षिक क्षेत्रका विविध विषयमा छलफल र विचार आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो । विद्यालयका संस्थापक प्रिन्सिपल डा। लक्ष्मण बस्नेतले सुदूरपश्चिममा पहिलो पटक राष्ट्रियस्तरको अनुसन्धान सम्मेलन आयोजना गर्न पाउँदा आफूहरू उत्साहित भएको बताउनुभयो ।
उहाँले शैक्षिक क्षेत्रमा अनुसन्धानको संस्कृतिको विकास गर्न, नयाँ ज्ञान तथा विचारको आदानप्रदान गर्न र विद्यार्थी तथा शिक्षकलाई अनुसन्धानतर्फ प्रेरित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
सम्मेलनले सुदूरपश्चिमको शिक्षा तथा अनुसन्धान क्षेत्रलाई राष्ट्रियस्तरसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।
सम्मेलनमा शिक्षा तथा अनुसन्धान क्षेत्रमा क्रियाशील विज्ञ, प्राध्यापक, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको सहभागिता रहने बताइएको छ ।
कार्यक्रममा अनुसन्धानका विभिन्न विषयमा प्रस्तुतिकरणसँगै समसामयिक शैक्षिक विषयमा प्यानल छलफलसमेत गरिने आयोजकले जनाएको छ ।
सुदूरपश्चिममा पहिलो पटक आयोजना हुन लागेको यस सम्मेलनले प्रदेशको शैक्षिक तथा अनुसन्धान क्षेत्रलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।



